विराटनगर , ३१ असार  ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफनो रणनीति योजना तयार गरेको हो । 

मनमोहनले पाँच बर्षभित्र कुनकुन बिषयको के कसरी पठनपाठन गराउने , भौतिक पुर्वाधार अनि दक्षजनशक्त्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरुलाई कुन मूल्याङकनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँचबर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए । उपकुलपति पोखरेलकाअनुसार रणनीति निर्माणमा विज्ञहरु हिक्मतबहादुर बस्नेत र भवानी सुवेदीले  सहयोग गरेका थिए । शिक्षक र कर्मचारीहरुलाई पुरस्कृत गर्ने आधारबारे प्राध्यापक डिल्ली प्रसाईले जानकारी गराएका थिए । 

छलफलमा पुर्वाञ्चल विश्वविद्यालयको ईन्जिनियरिङ संकायका डिन देविप्रसाद भट्टराई ,प्राध्यापक कृष्ण पोखरेल , मदनभण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल , उद्योगी सोमनाथअधिकारी , उद्योग संगठन मोरङकापुर्व अध्यक्ष मुकेश उपाध्यायलगायतले आवश्यक सुझावहरु दिएका थिए । 

पाँचबर्षे रणनीति छलफलमा बोल्दै   उपकुलपति डा सुवासश्री पोखरेलले देशकै पहिलो प्राविधिक विश्विद्यालय मनमोहनले छोटो समयमै आफनै अनुसन्धान केन्द्र स्थापना गरेर पाँच वटा विषयमा अनुसन्धान गरिसकेको जानकारी गराए । उनले मनमोहन लोकसेवा हैन आफनै दक्षतामा रोजगार पाउने गरि दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्यलाई उच्च प्राथमिकता दिइरहेको जानकारी गराए । उनले दक्ष जनशक्त्तिहरु विदेश पलायन हुने क्रमलाई रोक्न मनमोहन सफल हुदै जाने विश्वास व्यक्त्त गरे । 

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल आधारभुत , मध्यस्तर र उच्चस्तरको प्राविधिक जनशक्त्ति उत्पादन गर्नेगरि पठनपाठन सुरु भैरहेको छ । मनमोहनमा हाल ईन्जिनियरिङ तर्फ सिभिल र ईलेक्ट्रिोनिक्स अनि पारामेडिकलतर्फ विफार्मेसी स्नातकतर्फको पठनपाठन भैरहेको छ । चालु शैक्षिक सत्रदेखी प्राकृतिक चिकित्सातर्फ स्नातकतहको कक्षापनि सुरु गर्नेतयारी भैरहेको छ ।