विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरणजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । हिजो नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग माक्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जाननसकेको बताउनुभयो । 

उहाँले  विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राख्नुभयो  ।  विद्युतीय, मेडिकल जन्यफोहोर व्यवस्थापन महानगरका लागि चुनौतिपूर्ण रहेको कोइरालाको भनाई छ । विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरकारुपमा व्यवस्थापन गरिंदै आएको र यसरी गरिने फोहोर व्यवस्थापनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले  बताउनुभयो  । उहाँकाअनुसार इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामानहरूमा हुने विभिन्न खालका एसिडहरूले  मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन् । यस्ता एसिड र केमिकलहरू भएका उपकरणको उचित व्यवस्थापन नगरे मानिस क्यान्सरको जोखिममापार्ने  उहाँको भनाई छ ।  विद्युतीय फोहोर व्यवस्थापनका लागि आयातकर्ता, विक्रेता , प्रयोगकर्ता देखि सरकारसमेत जिम्मेवार बन्नुपर्ने उहाँको सुझाव छ । ‘इ वेष्ट म्यानेजमेन्ट’का लागि छुट्टै ऐन निर्माणको आबश्यकता ठानेर नेपाल दूर सञ्चार प्राधिकरणले सुझाव संकलनसमेत थालेको अर्यालले बताउनुभयो  ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख बाबुराम तिम्सिनाले इलेक्ट्रोनिक सामाग्रीको प्रयोग पछिको व्यवस्थापन जटिल बन्दै गएको बताउनुभयो  । महेन्द्र मोरङ क्याम्पसमा पनि यस्ता सामाग्रीहरू धेरै प्रयोग हुने गरेको तर त्यस्ता सामाग्रीको व्यवस्थापनका लागि नेपालमा आबश्यक पूर्वाधारनहुँदा पुराना धातुहरू सरह कवाडीलाई बिक्रि गर्ने गरिएको उहाँले बताउनुभयो  । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले इ वेष्ट म्यानेजमेन्टका लागि आबश्यक पूर्वाधार तयार गर्न जरुरी रहेको बताउनुभयो  । उहाँले पुराना विद्युतीय सामाग्री संकलन गरेर पुनःप्रयोगका लागि रिसाइकल गर्ने विषयमा उद्योग संगठन मोरङ सरकारसँग साझेदारी गर्न तयार रहेको धारणा राख्नुभयो  ।

कवाडी व्यवसायी महासंघ मोरङका अध्यक्ष नुर मियाँले पुराना विद्युतीय सामाग्री संकलन गरेर रिसाइकलका लागि भारत पठाउने गरिएको बताउनुभयो । नेपालमा पुराना विद्युतीय सामाग्रीको रिसाइलक गर्ने पूर्वाधार नभएका कारण कवाडीकारुपमा भारत निकासी गरिंदै आएको मियाँले जानकारी दिनुभयो  ।  कार्यक्रममा कम्प्युटर एशोसिएसन मोरङका सचिव अजित चापागाई, मोवाइल बितरण संघ मोरङका अध्यक्ष हरिप्रसाद उप्रेति विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले अवस्था भयावह हुनु भन्दा पहिलै सबैको संयुक्त प्रयासमा विद्युतीय फोहोरको व्यवस्थापनको काम थाल्नु जरुरी रहेको धारणा राखे ।