अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत बजेटले आउने दिनमा पुँजीगत खर्च गर्ने विषयमा रहेको समस्या हल गर्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताउनुभएको छ ।
सङ्घीय संसद्को दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले बजेटमा प्रस्तुत भएका विषय कार्यान्वयन नियमित रुपमा अनुगमन गरिने बताउनुभयो ।
“पुँजीगत खर्चलाई नियमितरुपमा यसलाई अनुगमन गर्छौं, बोलेका कुरा कार्यान्वयनमा लान्छौँ । यसले पुँजीगत खर्चको प्रभावकारिता बढ्छ, सरकारी संरचनामा देखिएको ढिलापन समाप्त हुन्छ”, उहाँले भन्नुभयो ।
अर्थमन्त्रीले साधारण खर्चमा अत्यन्त मितव्ययिता अपनाउने, अनावश्यक संरचना नराख्ने सुरुआत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट विनियोजन गरेर मात्रै पुगेन, यसको प्रभावकारिता कसरी बढाउने भनी सूक्ष्म ढङ्गबाट अध्ययन विश्लेषण गरिएको छ ।”
करका नीति पनि उद्योग क्षेत्रलाई केन्द्रविन्दुमा राखेर ल्याइएको जनाउँदै उहाँले कसैको पक्ष वा विपक्षमा नभएको बताउनुभयो । “राजस्वतर्फ जहाँ नीतिगत चुहावट छ, कहाँ करलाई छली प्रवृत्ति कसरी आइरहेको छ, त्यसलाई मध्यनजर राखेर समग्ररुपमा निजी लगानीलाई प्रोत्साहन गर्ने, त्यसमा करका दर नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धा गर्न सहज हुने गरी करका दर मिलाइएको छ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।