विराटनगर, २१ बैशाख ।कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले प्रदेशको राजस्व संकलनमा प्रमुख भूमिका खेल्ने यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन डिजिटलाईजेशन गर्न लागिएको बताउनु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मंत्रालयले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमंत्री कार्कीले सुरक्षित यात्राका लागि प्रविधि मैत्री सार्वजनिक यातायात हुनुपर्ने मान्यता अनुसार सार्वजनिक यातयातलाई डिजिटलाईजेशन गर्न लागिएको  बताउनु भयो ।

हिक्मत कुमार कार्की, मुख्यमंत्री, कोशी प्रदेश ।  

कोशी प्रदेश सरकारले सार्वजनिक यातायातलाई यात्रु मैत्री, मर्यादित र व्यवस्थित बनाउन आगामी वर्ष देखि डिजिटलाईजेशन गर्ने प्रक्रिया शुरु गर्ने भएको छ । सार्वजनिक यातायात प्रति आकर्षण बढाउन तथा सुरक्षित यात्राका लागि सवारी साधनमा जिपिएस प्रणाली जडान गर्ने देखि इ टिकेटिङ प्रणाली जस्ता प्रविधिहरु लागू गर्न लागेको हो ।  

पहिलो चरणमा कोशी राजमार्गको विराटनगर धरान तथा पूर्व पश्चिम राजमार्गमा झापाको काकडभिट्ठा देखि विराटनगर सम्मका सार्वजनिक यातायातमा डिजिटलाईजेशन गर्न यातायात व्यवसायी, उपभोक्ता र सरोकारवालाहरु बीच छलफल गरेको छ । प्रविधिको प्रयोगबाट हुन सक्ने फाइदा बारे जानकारी गराइएको सो कार्यक्रममा विभिन्न पालिकाका मेयरहरु, यातायात व्यवसायीहरु, उपभोक्ता, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रमुखहरुको सहभागिता रहेको थियो ।