विराटनगर, २० बैशाख ।कानुन भएता पनि कार्यान्वयन नभएका कारण  अहिले पनि छुवाछुत एवम् विभेद कायमै रहेका दलित अधिकारकर्मीहरुले बताएका छन् , 

वुधवार विराटनगरमा आयोजना गरिएको न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको प्रदेश स्तरीय सम्मेलनमा उपस्थित सहभागिहरुले सरकारले कानुन कार्यान्वयनमा ढिलाई गरेको र विभेदलाई दलितको मात्र समस्या भन्ने बुझिदिएकाले समाजमा छुवाछुत र विभेद कायमै रहेको बताए । सो कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले छुवाछुत र विभेदको समस्या समाधानका लागि सबैको सहयोग र प्रयास आवश्यक रहेको बताए । उनले कानुन कार्यान्वयनका लागि सचेतना जगाउन पनि आवश्यक भएको धारण राखे  ।

दलित महिला संघले आयोजना गरेको सो दुई दिने सम्मेलनमा कोशी प्रदेशका विभिन्न पालिकाका दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । सो कार्यक्रममा छुवाछुत र विभेदको अवस्था, दलित सवालमा पालिकाले गरिरहेको कार्यक्रम, जनप्रतिनिधिहरुको भूमिका बारे छलफल गरिने बताइएको छ ।