विराटनगर २० वैशाख ।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर पत्रकार महासंघ मोरङले १२ जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।
वुधवार विराटनगरमा आयोजना गरिएको एक कार्यक्रमका विच चाँदीको मेडल ,दोसल्ला र सम्मान पत्रले ६० बर्ष उमेर कटेका र पत्रकारीतामा निरन्तरता दिदै आएका मोरङका पत्रकारलाई सम्मान गरिएको हो । सो सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अम्बर खड्काले यो अभिव्यक्ति स्वतन्त्रता केवल पत्रकारहरुको मात्र नभई आम नागरिकको भएको धारणा राखे ।
कोशी प्रदेशका मुख्य मंत्री हिक्मत कुमार कार्कीले पछिल्लो समय मर्यादित पत्रकारिता हराउदै गएकाले स्वयं पत्रकारहरु नै सजग र सचेत हुनुपर्ने धारणा राखे । उनले पत्रकारहरुको पेशागत हकहितका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउदै आगामी बजेटमा समावेश गरिनुपर्ने विषयहरु लिखित रुपमा ल्याउन आग्रह गरे । अग्रज पत्रकारलाई सम्मान गर्दै यस्ता खालका सम्मानले आगामी दिनमा पत्रकारीता गरिरहेकाहरुलाई अगाडी बड्न मार्ग निर्देशन हुने र पत्रकारीताको पेसागत सुरक्षालाई मधत पुर्याउने बताए ।
सो सम्मान कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।