विराटनगर १८ वैशाख । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निरौला  कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छिन् । 

प्रदेश सरकार आगामी आर्थिक २०८०/०८१ को बजेट निर्माणमा जुटेको छ । विराटनगर कोशी प्रदेश राजधानीसँगै एक मात्रै महानगरपालिका भएकाले बजेटमा उच्च प्राथमिकतामा राख्नुपर्ने कार्यबाहक मेयर कार्कीको भनाइ थियो । वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, कानुनी सल्लाहकार डिल्ली घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापालगायतलाई साथैमै लिएर मुख्यमन्त्री कार्कीलाई भेट्न पुगेकी कार्यबाहक मेयर कार्कीले ऐतिहासिक र आर्थिक नगरी भएर पनि विराटनगर पछि पर्दै गएको बताइन । उनले प्रदेश राजधानी भएकाले विराटनगरको विकासमा ध्यान दिन मुख्यमन्त्रीलाई बजेटमा प्राथमिकतामा राख्न आग्रह गरिन ।

सो अवसरमा प्रदेश सरकारले हालै ल्याएको स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशप्रति कार्कीले असन्तुष्टिसमेत व्यक्त गरीन । उनले अध्यादेशका कारण कर्मचारीहरुले धमाधम राजीनामा दिइरहेकाले महानगरको कार्यसम्पादनमा समस्या भएको गुनासो समेत गरीन् । कार्यबाहक मेयर कार्कीले स्थानीय सरकारसित छलफल र परामर्श नगरी ल्याएको अध्यादेश संशोधन हुनुपर्नेमा जोड दिइन । सो अवसरमा मुख्यमन्त्री कार्कीले विराटनगरको विकास र समृद्धिमा आफू गम्भीर भएको प्रतिक्रिया दिइन ।