नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विराटनगर महानगरपालिका–१ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गर्नुभयो । उहाँले यस वडा शिक्षा र स्वास्थ्यमा पछाडि परेको भन्दै स्थान छनोट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो । 

वडाध्यक्षसमेत रहनु भएका बस्नेतले शिविरमा स्वास्थ्य जाँचसँगै आहार, विहार र जीवनशैलीका विषयमा पनि जानकारी प्राप्त हुने उल्लेख गर्नुभयो ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गर्भावस्थाभन्दा अगाडिदेखि नै खानपान राम्रो भयो भने जन्मिने बच्चा स्वस्थ हुने बताउनुभयो । 

शिविरमा तौल, बोसोको मात्रा, मधुमेह, रक्तचाप, रक्त समूहलगायतको जाँच गरिएको थियो । जाँच गर्न आएका सेवाग्राहीलाई परामर्शसमेत दिइएको आयोजक संस्थाका अध्यक्ष रोशन तिम्सिनाले बताउनुभयो ।