विराटनगर, १५ बैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कर्मचारीहरुले तलब पाउने अवस्था नभएको र शिक्षकहरुले पेन्सन खान नपाएको बेला सरकारले अयोग्य लडाकुलाई २ लाख रुपैया दिने कुरा जायज नहुने बताए ।
विराटनगरमा आयोजित नेपाली कांग्रेस विराटनगर महानगर तथा क्षेत्रको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक अवस्था अत्यन्त खराब भएका बेला अयोग्य लडाकुलाई रकम दिने कुरा गलत भएको बताए।
नेता कोइरालाले माओवादी कै कारण लडाकुहरु अयोग्य भएको र अनमिनले अयोग्य घोषणा गरेको बताउदै अयोग्य लडाकुहरुलाई राहत रकम दिनुभन्दा रोजगार दिन सरकारले प्रयास गर्नुपर्ने बताए ।
सो कार्यक्रममा नेता कोइरालाले नेपाली कांग्रेस ठिक ढंगले चल्न नसकेको बताउदै नेपाली कांग्रेस सत्तामुखी हुनुभन्दा जनतामुखी बन्नुपर्ने बताउए । उनले उपनिर्वाचनले नेपाली कांग्रेसका गल्ती र कमजोरीहरु प्रष्ट देखाएको बताउदै नेपाली कांग्रेसलाई पुनः पुरानै ठाँउमा फर्काउन हिडेको बाटोबाट फर्किनुपर्ने धारणा राखे ।
सो कार्यक्रमा उपस्थित केन्द्रीय सदस्य, क्षेत्रिय प्रतिनिधिहरुले नेपाली काग्रेस जनता संग टाढिदै गएको गुनासो गरेका थिए ।