विराटनगर, १२ बैशाख ।
बैंक व्याज दर वृद्धि, अघोषित लोडसेडिङ, रेलवे संचालन, स्थानीय तहको कर लगायतका समस्याहरु समाधानका लागि पहल गरिदिन पूर्वका उद्योगी व्यवसायीहरुले कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीलाई आग्रह गरेका छन् ।
विराटनगर स्थित मुख्यमंत्री तथा मंत्रीपरिषद कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा उद्योगी व्यवसायीहरुले बैंक व्याज दर वृद्धि र आर्थिक मन्दीका कारण उद्योग व्यवसाय संचालनमा समस्या भईरहेका बेला अघोषित लोडसेडिङले थप मार परेको गुनासो गरेका थिए । उनीहरुले उत्पादन वृद्धि र व्यापार सहजिकरणका लागि लाग्नुपर्ने उद्योगी व्यवसायीहरुलाई नेपाल विद्युत प्राधिकरणले सडकमा आउन बाध्य बनाएकोले प्रदेश सरकारले पहल गरिदिनुपर्ने माग गरेका थिए । उनिहरुले यस्तै अवस्था रहने हो भने उद्योगी व्यापारीहरुले उद्योगबन्द र आत्महत्या गर्नुको विकल्प नरहेको गुनासो गरे ।
सो छलफल कार्यक्रममा मुख्यमंत्री हिक्मत कुमार कार्कीले आफु बैंक व्याज दर वृद्धि र अघोषित लोडसेडिङ बारे जानकार रहेको बताउदै सम्बन्धित निकायलाई प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने जानकारी दिए । उनले प्रदेश सरकार आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत उद्योगी व्यवसायीलाई सुविधा उपलब्ध गराउन तयार रहेको र यसका लागि सुझाव दिन आग्रह समेत गरे । उनले पछिल्लो समय भएको विद्युतको समस्यालाई लिएर सम्बन्धित निकयमा छलफल गर्ने बताए ।
कोशी प्रदेश मुख्य मंत्री कार्यालयमा भएको छलफल कार्यक्रममा मोरङ र सुनसरीका उद्योगी व्यवसायीहरुको उपस्थित रहेको थियो ।