विराटनगर, ११ बैशाख ।  संविधानको धारा २९४ को उपदफा ३ बमोजिम आदिवासी जनजाति  आयोगका सदस्य शरण राईले आदिवासी जनजाति आयोगको तेश्रो प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङलाई हस्तान्तरण गरेका छन् ।

 सोमबार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन बुझाउदै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको मर्म र भावना अनुसार सबै जातजाति र समुदायको एकता र विश्वासबाट मात्र मुलुकको सार्वभौमसत्ता र अखण्डताको रक्षा हुने बताएका छन् ।

सो कार्यक्रममा आयोगका सदस्य शरण राईले आदिवासी जनजाति समुदायको हक हित र अधिकार रक्षाका लागि संघिय, प्रदेश र स्थानीय सरकारले आदिवासी जनजाति समुदायको लागि बजेट विनियोजन गर्न आयोगले प्रतिवेदनमा सुझाव दिएको जानकारीदिए ।

आदिवासी जनजाति आयोगको तेश्रो वार्षिक प्रतिवेदन ०७८–७९ बुझ्दै प्रदेश प्रमुख खापुङले मुलुक विविधतायुक्त भएको र सबै जातजाति बीच सहकार्य र समन्वय गरेर राष्ट्र र राष्ट्रियता बलियो बनाउनु आजको आवश्यकता भएको बताए ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आदिवासी जनजाति आयोगका कर्मचारीहरु, प्रदेश प्रमुखको कार्यालय सचिव र कर्मचारीहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।