जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहँुदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल भएको छ । स्वास्थ्य बीमाबापतको रु ५६ लाखभन्दा बढी पाउन बाँकी हुँदा जिल्ला अस्पतालको ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पताल सञ्चालन समितिका सदस्य सुवास आचार्यले जानकारी दिनुभयो । स्वास्थ्य बीमा बोर्डबाट अस्पताल सञ्चालन समितिले पाउनुपर्ने रकम समयमै नपाए अस्पतालले सञ्चालन गरिरहेको फार्मेसी र ल्याब सेवा बन्द हुने उहाँ बताउनुहुन्छ । जिल्ला करारमा जनशक्ति व्यवस्थापन गरेर फार्मेसी र ल्याब सेवा समिति आफैँले सञ्चालन गरिरहेको छ । जिल्ला अस्पतालका निमित्त प्रमुख विजया राईका अनुसार बीमाबापत अस्पतालले रु ५६ लाख ७८ हजार पाउन बाँकी छ । आर्थिक वर्ष २०७८÷७९ मा रु ४३ लाख ४५ हजार मागदाबी गरिएकामा रु पाँच लाख ४५ हजार भुक्तानी भएको छ । चालु आव २०७९÷७९ को मागदाबी गरिएमध्येको कत्ति पनि रकम भुक्तानी नभएको अस्पतालले जनाएको छ । राईका अनुसार चालु आवको पुस मसान्तसम्मको रु १८ लाख ७७ हजार स्वास्थ्य बीमाबापतको रकम अस्पताल सञ्चालन समितिले पाउन बाँकी छ । समयमै बीमाबापतको रकम भुक्तानी नभएमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने अवस्थामा पुगेको राईले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा बोर्डले चाँडै भुक्तानी दिने आश्वासन दिएको छ । समयमै भुक्तानी नभए स्वास्थ्य सेवा प्रभावित हुन्छ ।” –––RSS