राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गर्नुभएको हो । राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम–सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलाश डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गर्नुभएको हो । षडानन्द नगरपालिका–१ मझुवाबँेसीमा निर्माण हुन लागेको योगमाया पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्याससमेत गर्नुभएको छ । यो स्थानमा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । –––RSS