प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा तरुल उत्सव हुने भएको छ । मेचीनगर–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो । हात्तीले पनि नखाने, स्वास्थ्यकर खानाको रुपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा टेवा पुर्याउने उद्देश्यले माघे संक्रान्तिको अवसर पारेर तरुल उत्सवको आयोजना गर्न लागेको मेचीनगर नगरपालिका–४ वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो । “हिजो हाम्रा बाबु बाजेले खाजाको रुपमा खाने तरुलको महत्व हराउँदै गयो”, उहाँले भन्नुभयो, “मम, चाउमिन र चाउचाउ जस्ता तयारी खाजामा रुमलिएका हाम्रा नानीहरुले तरुल नै नचिन्ने भए । तरुल चिनाउन आज उत्सव नै आयोजना गर्नुपर्ने भयो ।”
उहाँले उत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने, घर तरुल, सिमल तरुल, सुढुनी तरुल, बनतरुललगायत परम्परागत कृषि औजारहरुको समेत उत्सवमा प्रर्दशनी गरिने बताउनुभयो ।
उहाँले बाहुनडाँगीबासीले दैनिक आउने जंगली हात्तीकोबाट अन्न जोगाउन नसके पछि पछिल्लो समय धान, मकैलगायतका खेतीको विकल्पमा सुपारी, मरिच, तेजपत्ता, चिया खेती गर्दै आएको बताउनुभयो । उहाँले सुपारीखेती भित्रै तरुलको व्यवसायिक खेती गर्न सकिने हुँदा कृषि विज्ञहरुद्वारा स्थानीयवासीलाई उत्सवमा तरुलको महत्व र खेतीको बारेमा जानकारी दिइने बताउनुभयो ।
उत्सवमा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई समेत उपस्थिति गराएर विभिन्न चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा तरुलको परिकारका बारेमा बुझाइने उहाँको भनाइ छ । उत्सवको आयोजना मेचीनगर–४ ले गर्ने उहाँले बताउनुभयो ।
RSS