बेलबारी, १२ भाद्र । बेलबारीका कलाकार तथा गजलकार जेवी थुलुङको गजलकृति नथाक्ने मान्छेको दोस्रो संस्करणको लोकार्पण भएको छ । बेलबारीमा आज एक कार्यक्रमकाविच थुलुङको कृतिको लोकार्पण भएको हो ।

२०७७ सालमा विमोचित कृतिमा ६५ वटा गजलहरू सङ्कलित रहेका छन् । विमोचित कृतिमाथिको कवि टीका आत्रेको टिप्पणि रहेको थियो । 

कृतिमाथिको टिप्पणि गर्दै कवि आत्रेयले थुलुङका गजलले गजलको शैद्धान्तिक परम्परालाई आत्मसात गरेको बताउँदै उनका गजलहरू प्राय गेयात्मक रहेको बताइन् । उनको गजलमा मातृभूमिप्रति श्रद्धा, नयाँ युगको विजारेपण, वैदेशिक पीडा, देशको दिमागको पलायनता, मानवताका पक्षपाति रहेको बताउँदै थुलुङका गजलहरू गायनका लागि पनि उत्तिकै शक्तिशाली भएको बताइन । 

उक्त कार्यक्रममा गायक साजन राई, गजलकार तथा पत्रकार सुविद गुरागाइँ लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख अथिति दिलप्रसाद राईले पठन संस्कृतिको विकास भइरहेकोमा खुसी व्यक्त गर्दै स्रष्टाले कहिल्यै थाक्नु नहुने बताए । नगरप्रमुख राईले साहित्यको माध्यमबाट बेलबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा चिनाउने काम गरेकोमा स्रष्टाहरूप्रति आभारसमेत व्यक्त गरे । 

कार्यक्रममा गायिका तथा संस्कृतिकर्मी मधु गुरुङ, स्रष्टन ईरान राई, गायिक बालिका पौड्याल, गायक संजिव धिमाल लगायतको सहभागिता रहेको थियो । 

स्रष्टा समाजकी उपाध्यक्ष तिला लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन भने कवि रेखा सुवेदीको रहेको थियो ।