यो दसैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । घटस्थापना सुरु हुन करिब महिना बाँकी रहँदा खाद्यका साथै साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत दिन गृहकार्य थालेका छन् । खाद्यले खसीबोका/च्यांग्रा, चामल, दाललगायत गेडागुडीमा छुट दिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । उनले यसपालि ३ हजार खसीबोका र च्यांग्रा ल्याउन लागिएको जानकारी दिइन् । खाद्यले गत वर्ष १९ सय ५५ खसीबोका ल्याएर बिक्री गरेको थियो । करिब एक हजार च्यांग्रा ल्याउने भनिए पनि आयात गर्न सकेन । ०७७/७८ मा १५ सय ९ खसीबोका भित्रिएका थिए । दसैंका लागि च्यांग्रा मुस्ताङ र तिब्बतबाट समेत आयात हुने गरेको थियो । कोभिडका कारण सीमा बन्द भएपछि च्यांग्रा आउन नसकेको खाद्यले जनाएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या थोरै भए पनि त्यसले बजार हस्तक्षेप गर्न सघाउँछ । खाद्यले मूल्य तोकेपछि व्यापारीले चर्को मूल्य राख्न पाउँदैनन् । यो वर्ष च्यांग्राको खोजी/सम्भावनाबारे खाद्यले मुस्ताङ शाखा कार्यालयलाई पत्राचार गरिसकेको छ । खसीबोका विशेषगरी तराईका जिल्लाबाट ल्याइन्छ । खरिद मूल्यमा ढुवानी र प्रशासनिक खर्चसहित जोडेर खुद्रा बिक्री मूल्य तय गरिन्छ । खाद्यले बेच्ने खसीबोका व्यापारीका भन्दा सस्ता हुन्छन् ।यता, निजी व्यापारीहरू पनि खसीबोका र च्यांग्रा आयात गर्ने तयारीमा छन् । खाद्यले खसीबोकासँगै चामल, दाल, तेल, आँटा, कर्णालीको सिमीलगायत खाद्यान्न छुटमा बिक्री गर्ने जनाएको छ । तर छुट रकम र सहुलियत पसलको स्टलबारे निर्णय भइसकेको छैन । छुटको सन्दर्भमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्णय गरेपछि खाद्यले कार्यान्वयन गर्नेछ । कम्पनीले सातै प्रदेशको डिपोबाट सहुलियत मूल्यमा चामललगायत गेडागुडी उपलब्ध गराउने जनाएको छ ।