काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेका अबेवस्तीत घर तथा टहरा हटाउने क्रममा अल्फाबिटा कम्प्लेसको भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग झोक्किएका छन् । अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा निर्देशक शर्मा नमानेपछि मेयर शाह झोक्किएका हुन् । घरबेटीले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै निर्देशकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर शाहसँग हुनुपर्ने भनेपछि उनी झोक्किएका थिए । ३५ दिने सूचना सार्वजनिक रुपमा जारी गरिएको भन्दै निर्देशक शर्मासँग मेयर शाहले ’तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग ?’ भन्दै झोक्किएका थिए । त्यसपछि ती घरबेटीले मेयर शाहलाई जनप्रतिनिधि भएर थर्काएको भन्दै आरोप लगाएपछि उनी शान्त भएका थिए । महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाएपछि त्यसलाई हटाउनसमेत निर्देशन दिएका छन् । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो । अनुगमनका क्रममा घरबेटीहरूले नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ । महानगरपालिकाले संरचना हटाउन लाग्ने सम्पूर्ण खर्च घरबेटीलाई भर्पाइ पनि गराउने भएको छ ।