बेलबारी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी, भाउन्ने, पथरीलगायतका स्थानमा बिहानैदेखि साँझसम्म निगुरो विक्री गर्नेको संख्या ठूलो हुने गर्छ । राजमार्ग किनारामा विक्रीका लागि राखिएको निगुरो किन्नेको पनि बाक्लो जमघट लाग्ने गरेको छ । मोरङको भाउन्ने, कानेपोखरी, पथरीलगायतका स्थानमा बिहानैदेखि निगुरो विक्री गर्नेहरु भेटिन्छन् । हेदै लोभलाग्दो निगुरो किन्नेको संख्या पनि उत्तिकै हुने गर्छ । स्थानीय सामुदायिक वन क्षेत्रमा पाइने निगुरो  टिपेर विक्री गरि पारिवारिक खर्च धान्नेको संख्या ठूलो छ। परिवारका सदस्यहरु बाढिएर कोही जङ्गलमा बिहानैदेखि डोको बोकेर पस्ने गरेका छन त कोही कोही सडक छेउमा विक्री गर्ने गरेका छन् । उनीहरु निगुरो विक्री गरेको आम्दानीले छोराछोरीको पढाई खर्चदेखि अन्य सम्पूर्ण घरायसी खर्च धान्दै आएका छन् । चैत महिनादेखि कात्तिकसम्म निगुरो पाइने सिजन हो । यो सिजनमा स्थानीयबाहेक सिरहा, सप्तरी, झापाको काँकडभिट्टासम्मका व्यापारीहरु पनि निगुरो टिप्न आउने गरेका छन् । पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायतका सामुदायिक वनमा निगुरो पाइन्छ । यही निगुरोका कारण धेरैलाई दैनिक गुजारा टार्न सहज हुँदै आएको छ ।

यसरी निगुरोबाट मनग्ये आम्दानी हुने गरेतापनि विगतका वर्षको तुलनामा यसपटक भने निगुरो उत्पादन कम भएकोे व्यापारी बताउँछन् ।  उत्तरी मोरङमा पाइने अर्गानिक तरकारी निगुरो प्रति सवै लोभिने गर्छन् । अतः यसलाई ‘ब्राण्डिङ’ गर्न सके प्रदेशकै आम्दानीको स्रोत बन्न सक्ने सम्भावना छ ।