भर्खरै बिएसी पास गरेका योगेन्द्र मण्डललाई आफ्नो गाउँ वरिपरीको विपन्न बालबालिका देखेपछि मन कस्तोकस्तो भयो । त्यहीमाथि बच्चाहरु स्कूलमा नगएको देखेपछि भने उनलाई केही गरौँ गरौँ भन्ने मनमा हुटहुटी चल्यो । 

यही छटपटी र हुटहुटीमा बिच उनले २०५२ सालमा आफ्नो घर वरिपरीका बालबालिकालाई स्वयमसेवकका रुपमा ट्युसन पढाउन मन लाग्यो । र उनले बालबालिकालाई भेला गरेर ट्युसन पढाए । मोरङको अमाहीबरियातीमा उनले सुरु गरेको  यो अभियानबाट पनि उनलाई सन्तृष्टि मिलेन । फेरी उनले समाज रुपान्तरण र समृद्धिका लागि जीवन विकास नामक संस्था खोले । आज त्यो संस्था सिंगो देशमा मात्र होइन अन्तराष्ट्रिय स्तरमा नै ख्याती कमाउन सफल भएको छ । 

२०२८ साल असारमा हालको धनपालथान २ मोरङमा जन्मिएका योगेन्द्रको समाजसेवाबाट अहिले ठुलो अभियान छेडिएको छ । गरिबरहित नेपालको परिकल्पना गर्दै शिक्षा, कृषि र लघुवित्तमा काम गरेका योगेन्द्रले समाज रुपान्तरणका लागि आफूले नेतृत्व गरेको संस्थालाई बलियो बनाउँदै लगेका छन् । उनले मोरङको धनपालथानमा जीवन विकास पब्लिक विद्यालय सञ्चालनमा ल्याएका छन् । सँगसँगै गाउँम बालबालिकाका लागि स्याहार केन्द्रहरु पनि सञ्चालनमा छन् । 

उनले सञ्चालन गरेको जीवन विकासको माध्यमबाट सञ्चालित जीवन विकास लघृवित्तले दशौँ हजारको फुसको छानाको घरलाई टिनको छानामा रुपान्तरण गरिदिएको छ । हजारौँको घर बनिएको मात्र छैन् । पढ्न नसक्नेहरुले पढ्न पाएका छन् । उनले नयाँ कन्सेप्टमा जीवन विकास सामुदायिक अस्पताल निर्माणको चरणमा छ । १९ विगाह जग्गामा सामान्य नागरिकहरुलाई सेवा दिने उद्धेश्यसहित यसलाई अगाडि बढाउन खोजिँदै  छ । 

अहिले भर्खरै देखि आधुनिक कृषि प्रणलीलाई विकास गर्ने उद्धेश्यले कस्टम हाइरिङ सेन्टर सञ्चालनमा छ । यसले किसानलाई उपकरणहरु भाडामा दिने र सहुलियतमा बिक्री गर्ने समेत योजना ल्याएको छ । 

त्यसो त उनले स्वयसेवक दिवसका दिन गरिबहरुको घर निशुल्क बनाइदिने अभियान पनि चलाएका छन् । गाउँमा बाझो खेत राखेका या खेति गर्न नसक्नेलाई भाडा बापतको रकम दिएर पनि बाझो खेतमा खेति लगाउने अभियानको पनि नेतृत्व गरेका छन् । मण्डल भन्छन्, ‘खाद्यमा आत्मानिर्भर बनाउने र गरिबरहित नेपालको बनाउने अभियानमा नै यी सबै काम गरिरहेको छु ।’ 

उनको अभियानबाट दुई हजारभन्दा बढीले रोजगारी पाएका छन् । उनले २० वर्ष अघि लौन केही गरौँ भन्ने विश्व बैंक र नेपाल सरकारको २० हजार डलरको प्रोग्राममा उनी  प्रतिस्पर्धाका आधारमा छनोटमा परेका थिए । यस्ता कयौँ अभियानबाट प्राप्त रकम सदुपयोग गर्दै उनले आफ्नो। अभियानलाई अगाडि बढाइरहेका छन् । 

शिक्षामा योगदान गरेको आधारमा अरब गल्फ फन्डबाट केही समेय अघि तीन करोडको पुरस्कारसमेत उनले हात पारेका छन् । विगतलाई सम्झिदैँ उनी भन्छन्, ‘मसँग जीवन विकास खोल्ने बेलामा पैसा पनि थिएन । ५÷७ सय  जुटाउन पनि धौधौ थियो । कयौँ पटक पुराना साइकलमा गाउँगाउँ डुलेर जीवन विकासको अभियानलाई अगाडि बढाएको छु । ’

सामान्य किसान परिवारमा त्यही पनि तराई समुदायबाट योसम्मको प्रगति हुनु ठुलो उपलब्धी हो । उनी अहिले पनि आफ्नो गाउँ ठाउँ बनाउने र गरिबीबाट आम नागरिकलाई उकास्ने आफ्नो योजना रहेको सुनाउँछन्, ‘विगतका आफ्ना दुखलाई आत्मासाथ गर्दै सबैलाई खुसी बनाउने मेरो लक्ष्य छ । विश्वासका साथ लागेको छु ।’