इटहरी : डेढ दसकअघिसम्म इटहरीको बुढी खोला नदी जुन मसानघाटले परिचित थियो । त्यहाँ जान प्रायः सवै डराउँथे । मसानघाट पश्चिम नजिकै वडा नं. ४ मा धार्मिक कार्य गर्नका निम्ति श्री कृष्ण प्रणामी मन्दिर थियो । बुढी खोला नदी छेउमा जताततै फोहोर थियो । खोलामा अनाधिकृत रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरेर वस्ती कटानको उच्च खतरा थियो । तर, त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिवेला वद्लिएको छ । जुन बुढी गंगा जमुना मुक्ति घाटको नामले चिनिएको छ। बुढी खोलामा १० करोड बढी खर्चेर दाहसंस्कार गर्ने व्यवस्थित आर्यघाट र मन्दिर पुर्नःनिर्माणको काम गरिएको छ । यसको निमार्ण संगै धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित भएको हो । जसले गर्दा सवै उमेर समूहका व्यक्तिहरु बुढी गंगा जमुना मुक्ति घाटमा आउने गरेको स्थानीयले बताएका छन् । व्यवस्थित आर्यघाट भएकैले गर्दा प्रदेश १ का अन्य स्थानभन्दा बुढी गंगा जमूना मुक्तिघाटमै दाहसंस्कारका लागि ल्याउने क्रम बढ्दो छ। विशेषगरी, सुनसरी र मोरङका थुप्रै स्थानका मानिसको मृत्युपछि दाहसंस्कार गर्न बुढी गंगा जमूना मुक्ति घाटमा ल्याउने गरिएको हो । बुढी गंगा जमुना मुक्तिघाटमा किरियापुत्री भवनको पनि व्यवस्था गरिएको छ । गरिव तथा विपन्न परिवारलाई किरियापुत्री भवनमा बस्ने व्यवस्था मिलाउने गरिएको छ।