मोरङको बेलबारी नगरपालिका–४ स्थित बेतनामा ३ जना सवार रहेको एउटा स्कुटर ट्रकमा ठोक्किएर मंगलबार राति दुर्घटना भएको छ । दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु भएको छ भने स्कुटरको पछाडि सवार २ जना गम्भीर घाइते भएका छन् ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स्कुटर सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकमा को २० प ७६४५ नम्बरको स्कुटर राति करिब ११ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो ।
कार्कीका अनुसार स्कुटर चालक बेलबारी–५ का २६ वर्षीय विक्रम राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार बिहानका राति १ बजेतिर मृत्यु भएको र शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा लगिएको जानकारी दिए ।
दुर्घटनामा स्कुटरको पछाडि सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते भएको जानकारी कार्कीले दिए । उनका अनुसार खुट्टा, अनुहार, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरुको नोबेलमै उपचार भइरहेको छ ।
ट्रक चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का २५ वर्षीय अविनाशकुमार खवासलाई दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर तीव्र गतिमा स्कुटर चलाएका कारण ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।