वैशाख ३० मा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन वर्षा हुनसक्ने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । सो बुलेटिनमा लेखिएअनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।
प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउँदथ्यो । तर महाशाखाले आज नै ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
त्यसमा लेखिएअनुसार वैशाख २८, २९ र ३० गते देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ । २९ गते मधेश प्रदेशका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना पनि छ ।
अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगाल क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । साथै दक्षिण बंगालमा चक्रवात पनि विकसित भएको छ ।

‘असानी’ नाम दिइएको सो चक्रवातले जलवाष्पयुक्त हावा नेपालसम्म ल्याउने र नेपालकै स्थानीय प्रणालीमा मिसिएर पानी पर्ने मौसमविदको भनाइ छ ।
‘यसले पहाडी भूभागहरुमा अलि धेरै असर पार्ने देखिन्छ’, मौसमविद् हिरा भट्टराईले अनलाइनखबरसँग भने, ‘तराई मधेशका जिल्लामा अग्ला पहाडहरु नभएकाले पहाडी भूभागको तुलनामा कम असर पर्छ ।’
पूर्वसावधानी भने देशैभर अपनाउनुपर्ने बताउँदै उनले भने, ‘कम्तिमा छाता बोकेर भोट हाल्न जानुपर्छ ।’
Source: Onlinekhabar.com