धरान । भागबन्डालाई लिएर धरान उपमहानगरमा ३ दल बीच खटपट भएको छ । केहि दिन अघि ४ दलीय गठबन्धनले पत्रकार सम्मेलन गरेर मिलेर चुनावमा होमिने बताएका थिए । तर वडा तहमा भागबन्डा मिल्न नसक्दा गठबन्धनका दल एक पछि अर्काे गर्दै एक्लै चुनावमा लड्ने अबस्थामा पुगेका हुन् । यस अघि जसपाले सम्मान जनक स्थान नभएको भन्दै एक्लै चुनावमा जाने भन्दै गठबन्धनबाट बाहिरिएको थियो । आज मनोनयन दर्ता दिन नेकपा माओबादी केन्द्र पनि गठबन्धनबाट बाहिरिने संकेत गरेको छ ।केन्द्रले गरेको निर्णय नमान्ने अबस्थामा पुगेपछि माओवादी केन्द्रले वडा तह एक्लै लड्न दिने निर्णय गरेको हो । यता मेयर र उपमेयरमा भने केन्द्रको निर्णय अनुसार मेयर काङ्गग्रेस र उपमेयरमा माओवादी केन्द्रबाट उठाउने निर्णय भएको माओेवादी नेता आइन्द्र बिक्रम बेघाले जानकारी दिए । उनले भने ‘धेरै साथीहरुले भागबन्डामा नबस्ने जस्तो कुरा गर्नु भयो, हामीले पनि बरु एक्लै लड्नुस तर एमाले सगँ मिलेर लड्नु भएन भनेका छौं ।’ उनले यस अघि भएका सहमति केही वडामा लागु भएपनि अब भने त्यो निर्णय पूर्णरुपमा लागु नहुने बताए ।
निकै लामो रस्साकस्सी पछि चार दलीय गठबन्धनले मेयर सहित नेपाली काँग्रेसले वडानं. १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ नम्बर वडाको वडाध्यक्ष लिनेमा सहमति भएको थियो ।
यस्तै नेकपा माओवादी केन्द्रले उपमेयर सहित वडानं. ३, १५, १७, र २० वडाको वडाध्यक्षमा सहमति भएको थियो । यसैगरी जनता समाजवादी पार्टीले वडानं. १० र १९, नेकपा एकीकृत समाजवादी पार्टीले ४ नम्बर वडाको वडाध्यक्षमा सहमति भएको थियो । अब भने धरानमा वडा तह सम्म निकै कमजोर रहेको नेकपा एकिकृत समाजवादी र काङ्गग्रेस मिलेर जाने भएका छन् ।