विराटनगरः विराटनगरको मेयरको टिकट कसलाई दिनेबारे नेपाली कांग्रेसमा नेताहरुबिच चर्काचर्की सुरु भएको छ । विराटनगरबाट मेयरकालागि संघीय सांसद एवम् केन्द्रीय सदस्य डिला संग्रौला, केन्द्रीय सदस्य अमृत अर्याल, केन्द्रीय सदस्य एवं हालका मेयर भीम पराजुली, प्रदेश कार्यसमिति सदस्य गोपाल रेग्मी, जिल्ला उपसभापति नागेश कोइराला, हालकी उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाईको नाम सिफारिस भएर गएको छ । सभापति देउवाले विराटनगरमा केन्द्रीय सदस्य अमृत अर्याललाई मेयरको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव अघि सारेपछि विवाद उत्पन्न भएको हो । खासमा विराटनगर नेता शेखर कोइराला र शशांक कोइरालाको प्रभाव क्षेत्र हो । कोइरालाले विराटनगरको मेयरमा जिल्ला सभापति नागेश कोइरालालाई अघि सार्न चाहेका छन् ।विराटनगरबारे नेता कृष्णप्रसाद सिटौलाले भने हालका मेयर पराजुलीलाई दोहोर्‍याउनु उपयुक्त हुने भनेका थिए । विराटनगरमा ०७४ को निर्वाचनमा कांग्रेसले एक्लै मेयर, उपमेयरसहित बहुमत पदाधिकारीमा जित हासिल गरेको थियो । यसपटक केन्द्रले चुनावी तालमेल गर्दा उपमेयर पद जसपालाई दिइसकेको छ ।सभापति देउवाले विराटनगरको विषयमा समेत हस्तक्षेप गर्न खोजेको कारण समस्या उत्पन्न भएको हो ।  विराटनगरमा महानगर, क्षेत्र, जिल्ला सबै शेखरको होल्ड छ । नेताहरूले विराटनगरमा सभापति देउवाले आफूपक्षीय नेतालाई जबरजस्ती टिकट दिए विद्रोह हुनसक्ने समेत भनेका छन् । उम्मेदवारको नामबारे छलफल गर्न सभापति देउवाले शुक्रबारै कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । तर शीर्ष नेताहरुबीच सहमति नभएका कारण अहिलेसम्म बसेको छैन । कार्यसम्पादन समितिको बैठक भने केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।