राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दु राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट आवाज उठाउनुपर्ने बताएकी छन्।
नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले हिन्दु राष्ट्र स्थापनाका लागि धार्मिक गुरुहरूले पनि राजनीतिक दलका नेताहरूलाई दबाब दिनुपर्ने बताइन्। मठमन्दिरमा आउने नेताहरूलाई ‘हाम्रो हिन्दु राष्ट्र खोइ ?’ भनेर प्रश्न गर्नुपर्ने उनको भनाइ थियो।
उनले हिन्दु समुदायका पक्षमा आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास गुम्दै गएको बताइन्। गौहत्या, गौतस्करी र हिन्दु समुदायमाथि हुने हिंसाका घटनामा धार्मिक संगठनहरू सडकमा उत्रिएर विरोध गर्नुपर्नेमा उनले जोड दिइन्।
‘गुरुवर्गहरूले अब मठ–मन्दिरमा आएकाहरूलाई समान व्यवहार गर्नुपर्छ। सबै आस्था वा अनास्था लिएर आएका हुन्छन्, धर्मनिरपेक्षवादी दलका मान्छेहरू पनि आएका हुन्छन्। फूलमाला पहिर्याउनुस्, स्वागत गर्नुस्, पूजापाठ गराइदिनुस्, तर तपाईंहरूको पनि जिम्मेवारी छ, हाम्रो हिन्दु राष्ट्र खोइ ? भनेर मठ–मन्दिरमा आउने नेताहरूलाई गुरुवर्गहरूले अब प्रश्न तेस्र्याउनुपर्छ,’ उनले भनिन्।
उनले छठका बेला घाट भत्काइएको घटनामा राजनीतिक दलका नेताहरू र धार्मिक गुरुहरूले प्रश्न नगरेको भन्दै असन्तुष्टि जनाइन्। ‘अस्ति छठको कार्यक्रममा हेर्नुस् त, कस्तो सनातनीहरूको देश हो यो, छठको साँझ छठको घाट भत्काइयो। तर त्यही समयमा देशका शीर्ष सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दलका सबै नेताहरू, वरिष्ठ नेताहरू तराईमा थिए। तर कसैले, न नागरिकले, न गुरुवर्गहरूले प्रश्न सोध्नुभयो, यो किन भयो भनेर ?’ उनले भनिन्।
सनातनी समुदायको विश्वास जित्न हिन्दु समुदायका पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने उनको भनाइ थियो। ‘हामीले विश्वास गुमाएका छौँ, सनातनीहरूको। यस्तै समयमा हामी चुकेका छौँ। हिन्दुहरूको पक्षमा उभिन हामी कहिलेकाहीँ चुकेका छौँ। अबको यो संगठनले र राप्रपाले पनि गौहत्या हुँदा कहिल्यै मौन त बसेको छैन, तर अब हामी सडकमा आउनुपर्छ। गौहत्या हुँदा हामी सडकमा आएर प्रश्न सोध्नुपर्छ, गौतस्करी हुँदा हामीले त्यसको विरोधमा सडकमा आउनुपर्छ, हिन्दुहरूको हत्या हुँदा हामी खुलेर आवाज उठाउनुपर्छ,’ उनले भनिन्।
उनले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले संसद्मा आवाज उठाउने र धार्मिक गुरुहरूले संसद्बाहिरबाट सहयोग गर्नुपर्ने बताइन्। ओलीले भनिन्, ‘हाम्रो यही समयमा, यही कालमा हिन्दु राष्ट्र स्थापना गर्न सकियोस्। यहाँहरूको आवाज हामी सदनमा राखेर निरन्तर आवाज उठाइराख्छौँ। यहाँहरूले सदनबाहिरबाट हामीलाई सहयोग गरिदिनुहुन अपिल गर्दछु।’












