नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको हार अस्थायी भएकाले त्यसबाट सुधार गर्नुपर्ने पाठ सिकेर अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छन्।
पार्टीको राष्ट्रिय भेलाको आज दोस्रो दिन उनले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिन्। ११ वर्षपछि पार्टी जीवनको सक्रिय राजनीतिमा फर्किएकी नेतृ भण्डारीले सम्बोधन गर्दै एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने जिकिर गरिन्।
उनले भनिन्, ‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही र सकारात्मक पाठ सिक्दै, सुधार गर्नुपर्ने पक्षलाई सुधार्दै र कमीकमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ।’ उनले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, सङ्गठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउन फर्किएको बताइन्।
राष्ट्रपतिजस्तो गरिमामय संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले अब कुनै पनि पदप्रति आशक्ति नभएको बताइन्। उनले मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्ने गतिविधि कसैले गर्न नहुने धारणा राखिन्।
पार्टी शुद्धीकरण, जनसङ्गठन र जलवायु न्यायका विषयमा बोल्दै उनले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र सङ्गठन सञ्चालनमा उतार्नुपर्ने बताइन्।
उनले युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसङ्गठनले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान सञ्चालन गर्नुपर्ने तथा निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका क्षेत्रमा पारदर्शी ढङ्गले काम गर्नुपर्ने बताइन्।
एमालेको दुईदिने भेला आज सम्पन्न हुनेछ।












