काठमाडौँ महानगरपालिकाको आयोजनामा आगामी मङ्सिर ७ देखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ।

जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि सहकार्य बढाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी तथा नागरिक समाजको सहभागिता रहने महानगरपालिकाले जनाएको छ।

सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा जलवायु नीति, वित्त, नागरिक विज्ञान, ऊर्जा, बालबालिका तथा युवा, खाद्य प्रणाली र जलवायु न्यायलगायत विषयमा छलफल तथा गतिविधि गरिनेछ।

कार्यक्रमअन्तर्गत ५० भन्दा बढी विद्यालयमा वातावरणीय गतिविधि सञ्चालन, विद्यार्थीबीच भिडियो प्रतियोगिता, टेकुस्थित बायोग्यास प्लान्ट उद्घाटन तथा ३२ वटै वडामा जलवायु चलचित्र प्रदर्शन गरिनेछ।

सप्ताहको अन्तिम दिन ‘जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि काठमाडौँ घोषणा २०८३’ जारी गर्ने कार्यक्रम रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।