ट्याङ्करबाट इन्धन चोरी गर्ने एकजना पक्राउ परेका छन्। तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा पार्किङ गरी राखिएका नेपाल आयल निगमका ट्याङ्करबाट इन्धन चोरी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर पक्राउ गरेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले इन्धन चोरी भइरहेको अवस्थामा दुई ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले निगमका लु २ ख २६५५ र लु२ख ३९४० नम्बरका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी भइरहेको अवस्थामा तिलोत्तमा नगरपालिका–७ मंगलापुर निवासी ४६ वर्षीय तिलबहादुर फुलाललाई पक्राउ गरेको जनाएको छ।

नियन्त्रणमा लिइएका ट्याङ्कर र पक्राउ परेका फुलाललाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिनुभयो।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।