नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा विराटनगरले रोमाञ्चक जित निकालेको हो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। उसका लागि इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ र लोकेश बमले ५० रन बनाए।
एनपीएलको इतिहासमा एउटै इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएको यो पहिलो पटक भएको आयोजकले जनाएको छ। बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए।
जनकपुरलाई पराजित गरेसँगै विराटनगरले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।












