थाइल्यान्डमा जारी महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। टर्डथाइ क्रिकेट मैदानमा आयोजक थाइल्यान्डको ‘ए’ टोलीलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड ‘ए’ ले १५.४ ओभरमा सबै विकेट गुमाएर १९ रन मात्रै बनायो। उसका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। थान्चानोक फुप्लुकले बनाएको चार रन नै टोलीका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

थाइल्यान्डका पाँच खेलाडी शून्य रनमा आउट भए भने ६ खेलाडीले मात्रै रन बनाउन सके। टोलीले बनाएको कुल १९ रनमध्ये ब्याटरहरूको योगदान १२ रन थियो भने अतिरिक्तबाट सात रन प्राप्त भएको थियो।

नेपालका लागि आरती विडारीले तीन विकेट लिइन्। सरिता मगर र इन्दु बर्माले समान दुई–दुई विकेट लिए।

२० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि ममता चौधरीले आठ रन बनाइन्। नेरी थापा पाँच र डोली भट्ट दुई रनमा अविजित रहे।

समूह चरणमा नेपालले शतप्रतिशत जित निकालेको छ। यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा यूएईलाई पनि ६ विकेटले पराजित गरेको थियो। चारवटै खेल जित्दै नेपाल समूह विजेता बनेको हो।