नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ७४ रन बनाएको हो।

विराटनगर किङ्सका लागि ओपनर लोकेश बम र तेस्रो नम्बरका ब्याट्सम्यान इमरान शेखले उत्कृष्ट अर्धशतकीय पाली खेल। आन्द्रे रसेलले पनि आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे।

लोकेश बम एनपीएलको तेस्रो संस्करणमा दुईवटा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बने। उनी ४० बलमा तीन छक्का र तीन चौकाको मद्दतले ५० रन बनाउँदै आउट भए।

२६ वर्षीय लोकेशले यसअघि कर्णाली याक्सविरुद्धको खेलमा पनि ५२ बलमा ८७ रन बनाएका थिए। उनी तेस्रो संस्करणमा सर्वाधिक रन र एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यान पनि हुन्।

जनकपुरविरुद्ध लोकेश र तेस्रो नम्बरमा क्रिज समाल्न आएका इमरान शेखले दोस्रो विकेटका लागि एक सय सात रनको साझेदारी गरेका थिए।

२१ वर्षीय इमरान शेखले टोलीका लागि ५६ रनको योगदान गरे। उनले ४५ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए।

चौथो नम्बरमा क्रिज समाल्न आएका वेस्ट इन्डिजका ब्याट्सम्यान आन्द्रे रसेलले टोलीको खातामा अविजित ५२ रन थपे । उनले केवल २९ बलको सामना गरी पाँच छक्का र दुई चौका हिर्काए।

शुभम रञ्जने सात रन बनाउँदै अविजित रहे। ओपनर सेहन जयसूर्या भने एक रन बनाउँदै पेभेलियन फर्किएका थिए।

जनकपुर बोल्ट्सका बलर अभिषेख तिवारीले दुई र मोइन अलीले एक विकेट लिए। विराटनगर किङ्सले अतिरिक्त रुपमा पनि आठ रन पायो।