प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन्।
सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा मंगलबार दिउँसो भएको भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निर्णयबारे जानकारी गराएका हुन्।
सोमबार कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालसहितका विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न माग गरेको थियो।
बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलगायतका विषयमा छलफल गर्न संसद् बैठक बोलाउन माग गर्ने निर्णय भएको थियो। सोही निर्णयबारे आङ्देम्बेले सभामुख अर्याललाई जानकारी गराएका हुन्।












