सरकारले आज र भोलि देशभरका बालबालिकालाई लक्षित गरी राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानबाट करिब २१ लाख बालबालिकाले भिटामिन ‘ए’ र २० लाख बालबालिकाले जुकाको औषधि प्राप्त गर्नेछन्।

उहाँले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गर्नुभएको छ। कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ। बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विसं २०५० देखि भिटामिन ‘ए’ र विसं २०५६ देखि जुकाको औषधि खुवाउन सुरु गरिएको हो।

नियमित रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रमले बालबालिकाको पोषण अवस्था सुधार तथा स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।