सरकारले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकमा मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको हो।
यसअघि ठेक्का प्रक्रियामा गम्भीर कानुनी तथा प्रक्रियागत त्रुटि भएको पाइएपछि सरकारले आयोजनाको खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो। प्राविधिक प्रस्ताव स्वीकृत भइसकेर सोमबार आर्थिक प्रस्ताव खोल्ने कार्यतालिका तय भएको अवस्थामा कानुनी व्यवस्था पालना नभएको देखिएपछि शुक्रबार ठेक्का प्रक्रिया रद्द गरिएको थियो।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्य, सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, आयोजना प्रमुख कृष्णप्रसाद रिजाल र आयोजनाका इन्जिनियरहरूको सहभागिता थियो।












