लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यहरूले खोलेका छन्।
ठप्प रहेको फुटबल क्षेत्रलाई पुनः चलायनमान बनाउन भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरूले सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन्।
साथै, उनीहरूले आगामी कात्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने समेत जनाएका छन्। एन्फाको विधानअनुसार २१ दिनअघि एकतिहाइ बढी सदस्यहरूले कार्यसमितिको बैठक आह्वान गर्न माग गरेका थिए। बैठक आह्वान नभएपछि २२औँ दिनमा एन्फा कार्यालयको ताला खोल्दै बैठक बस्ने विषयमा छलफल भएको एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले जानकारी दिए।
“एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथै कात्तिक १३ गते बैठक बस्नेछ,” उनले भने।
उनले १३ गतेको कार्यसमितिको बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव तथा अन्य सबै कार्यसमिति सदस्यहरूलाई उपस्थित भई नेपाली फुटबलको निकासका लागि एक ठाउँमा बसेर निर्णय गर्न आग्रह गरे।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्र ठप्प छ।












