राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा यस्तो सिफारिस भएको हो।

रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीमा परेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा फर्वाड गरिएको हो।

‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

बुर्लाकोटीका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन्। उनले संस्थान र ती कर्मचारीको नाम भने खुलाएका छैनन्। पार्टीमा विगतमा पनि यस्ता उजुरी परेका थिए। यस्तोमा उजुरीबारे सम्बन्धित व्यक्तिसँग बुझ्ने र निर्णय लिन दिने गरिएको छ।