मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ।

मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलमा मंगलबार राति बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा स्थानीय ३२ वर्षीय दिपेन लिम्बूको ज्यान गएको हो।

प्रहरीका अनुसार मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को १५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकछेउको बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो। तर, चिकित्सकले राति ११ः५५ बजे उनलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानबाट अध्यारो सडकमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले गरिरहेको छ।