सर्लाहीको कविलासी नगरपालिका–३, मदनपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मदनपुरकै ३३ वर्षीय तुलसी ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय मलङ्गवा सर्लाहीले जनाएको छ। ठाकुरलाई एक थान सिक्सर पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।  

मोटरसाइकल दुर्घटना भएको सूचना पाएपछि घटनास्थलमा प्रहरी टोली पुग्दा मोटरसाइकल चालक ठाकुरको साथबाट हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो। 

ठाकुर सोमबार बिहानपख बीआर ३० वाइ २८५३ नम्बरको मोटरसाइकल चढेर प्रदेश राजधानी जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका प्रहरीले जनाएको छ। 

मोटरसाइकल दुर्घटना हुँदा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको डिएसपी गौतमले बताउनुभयो। प्राथमिक उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिनुभयो। 

ठाकुरले कुनै आपराधिक घटना घटाउने उद्देश्यले पेस्तोल बोकेर हिँडेको हुनसक्ने आशङ्का गरिएको छ।