नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला(पन्त)ले महामन्त्री पदमा उमेदवारी दिने र विजयी हुने दाबी गरेकी छन्। महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्दै उनले त्यस्तो दाबी गरेकी हुन्। 

काठमाडौंको खुल्लामन्चमा जारी कांग्रेसको १५ औं महाधिवेशनकै सन्दर्भमा केन्द्रीय समितिको बैठकले एक महिला महामन्त्री थप गर्ने निर्णय भएपछि उनले आफू महामन्त्रीका लागि योग्य भएको दाबी गरिन्। 

१४औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री बनेकी उनले महामन्त्री पदमा विजयी भए पार्टीलाई एकतामा जोड्ने मियो बन्नसक्ने दाबी पनि गरिन्। 

‘मैंले नेपालको मेचीदेखि महाकालीसम्मका कांग्रेसका साथीहरुलाई निरन्तर साक्षात्कार गरिरहेको छु। युवा, महिला र सिमान्तकृत समुदायका मुद्दा धेरै पटक उठाएको छु। विद्यार्थी राजनीतिदेखि नै काम गर्दै आएकाले आफू सँधै परिवर्तनका पक्षमा रहेकाले कार्यकर्ताले मलाई विश्वास गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भनिन्। 

पार्टीलाई रुपान्तरण गर्ने र पार्टीभित्र तल्लोदेखि माथिल्लो तहसम्म जोड्न आफू कडीका रुपमा उभिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन्। उनले कांग्रेसलाई गुटवन्दीमुक्त पार्टी बनाउने पनि प्रतिवद्धता जनाइन्। 

सदन, सडक र कलमका माध्यमबाट भुइँमान्छेको आवाज उठाउँदै आएको जानकारी दिएकी उनले पार्टी एकताको बलियो मियो बनेर इतिहास रच्ने पनि उनको दाबी छ। 

‘मैंले प्राध्यापन पेसा छाडेर कांग्रेसको राजनीति गरें। पार्टीसँग सबै पेसा व्यवसाय भएका व्यक्तिहरुलाई जोड्ने काम गरिरहेको छु। त्यसैले महामन्त्रीका लागि बलियो उम्मेदवार हुँ,’ उनले भनिन्।