राज्यले प्रत्येक गर्भवतीलाई आमा सुरक्षा कार्यक्रम अन्तर्गत सेवा दिनुपर्ने सत्तारुढ रास्वपाकी सांसद डा. तोसिमा कार्कीले बताएकी छन्। सप्तरीको राजविराज–१४ की ३० वर्षीया बबिताकुमारी पासवानले गजेन्द्रनारायण सिंह अस्पतालनजिकै सडकपेटीमा शिशु जन्माएको विषयमा राज्य गम्भीर बन्नुपर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि योजना ल्याउनुपर्न कार्कीको भनाइ थियो। 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद कार्कीले राज्यले हरेक नागरिक त्यसमा पनि गर्भवती महिलासम्म स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बताइन्। सुत्केरी हुनका लागि अस्पतालमा नै आइपुगेकी गर्भवती पासवानलाई केन्द्रीय सरकार मातहतको अस्पतालले पैसाको बहानामा भर्ना गरी सेवा नदिएको र सडकमा सुत्केरी हुनु गम्भीर विषय भएको उनले बताइन्।'राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन् तर राज्यको सेवा बबितासम्म पुगेन,' कार्कीले भनिन्, 'बबिताजस्ता हरेक गर्भवतीसम्म राज्य पुगोस् र भनोस् चिन्ता नलिउ बबिता म तिम्रो साथमा छु।'

स्वास्थ्य मन्त्रालयले उक्त घटनाको छानबिनका लागि समिति गठन गरेर कसैलाई दोषी देखाउँदैमा समस्या समाधान नहुने सांसद कार्कीको भनाइ छ। मन्त्रालयले छानबिन गरेर यस्ता घटना नदोहोरिने गरी समाधानका उपाय अगाडि बढाउनुपर्ने उनको सुझाव थियो।'प्रशवमा आएकी महिलालाई तत्काल कुनै बहाना नबनाइ, पैसा छ वा छैन नहेरिकन क्लिनिकल असिसमेन्ट सुरु गरियोस् र सुरक्षति तरिकाले अस्पतालमा राखियोस्। आमा सुरक्षा कार्यक्रममा समग्र उपचार परीक्षण, औषधी, प्रशुती, शिशु सेवा, सुत्केरी सेवा तथा परिवार नियोजन सेवाको लागि प्याकेजमा व्यवस्थित गरियोस्,' उनले भनिन्। यस्तो काम गर्नका लागि कानुन र नीतिमा के संशोधन गर्ने हो तत्काल गर्नुपर्ने पनि उनले बताइन्। 

आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीलाई आवश्यक पर्ने औषधि, भीडीयो एक्सरेलगायतका सेवा दिनुपर्ने कार्कीले बताइन्। प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइ २४ सै घण्टा 'अलर्ट र एक्टिभ' राख्नुपर्ने उनको भनाइ थियो। हरेक अस्पतालमा आमा सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने र त्यस अन्तर्गत गर्भवती र सुत्केरीको सम्पूर्ण स्वास्थ्य सेवाको लागि हुनुपर्ने उनको सुझाव थियो।