सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले उद्योगमन्त्री गौरीकुमारी यादवलाई बर्खास्त गरिएको जिकिर गरेका छन्। बिहीबार (भदौ २५) प्रतिनिधिसभा बैठकमा सिंहले यादवले उनको घरमा यसअघि ‘प्रहरी परिचालन गरिएको’ दिन नै राजीनामा दिनुपर्ने टिप्पणी गरे।
“माननीय गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन रातमा प्रहरी परिचालन गरिएको थियो,” उनले भने।
उनले जति बेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्ने अधिकार प्रधानमन्त्रीमा रहेको बताए। तर, गुन्डा शैलीमा शासन गरिएको उनले आरोप लगाए। “गौरीकुमारीको राजीनामा होइन, सही रूपमा भन्ने हो भने बर्खास्ती हो। किनकि, रुँदै निस्किएको भिडियो देखेको छु,” उनले भने।












