चितवनको कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन्। कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरूले ती सामग्री हस्तान्तरण गरेका हुन्।
उनीहरूले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काइँयो १२५ सेटका दरले उपलब्ध गराएका हुन्।
कैदीबन्दीले १०० देखि दुई हजारसम्म नगद र श्रमदान गरी ती सामग्री उपलब्ध गराएका हुन्।
तीन लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको उनीहरूले बताएका थिए।
प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेकाबाट गरिएको सहयोग उदाहारणीय र नमूना किसिमको भएको बताए। कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन्। जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन्।












