नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घिउ पहिलो पटक दुबई निर्यात हुन थालेको छ। त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै शुक्रबारदेखि दुबईमा घिउ निर्यात सुरु गरिएको हो।
पहिलो चरणमा शुक्रबार ६ सय किलो घिउ हवाईजहाजमार्फत दुबई पठाइँदै छ। दुबईमा घिउ निर्यातका लागि डीडीसीले रातो र चन्द्र-सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।
दुबईका विक्रेताहरूले सुरुमा परीक्षणका रूपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताएका छन्। ‘सुरुमा लगेर त्यहाँ रहेका विक्रेतालाई एक-एक कार्टुन दिन्छौँ,’ उनले भने, ‘त्यसपछि अझै राम्रो परिमाणमा माग गर्छौँ।’
नेपाली उत्पादनको प्रचारप्रसारका लागि पहिलो पटक जहाजमार्फत पठाइए पनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी भइरहेको छ। दुबईबाहेक मध्यपूर्वका अन्य देशहरूमा पनि डीडीसीका घिउसहित अन्य दुग्ध उत्पादनहरू छिट्टै निर्यात तथा बिक्री वितरण गरिने उनको भनाइ छ।












