विराटनगर महानगरपालिका–८ स्थित मोरङ कारागारमा सोमबार बिहानदेखि गरिएको खानतलासीपछि कैदीबन्दीले प्रदर्शन र नाराबाजी गरेका छन्।

कारागारभित्र रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको जानकारी पाएपछि ‘बी’ ब्लकका कैदीबन्दी आन्दोलनमा उत्रिएका हुन्।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा बिहान ४ः३० बजेदेखि कारागारमा खानतलासी सुरु गरिएको थियो।

लागूऔषधलगायत अवैध वस्तु कारागारभित्र राखिएको सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको प्रहरीले जनाएको छ।

एसपी कटवालले भने खानतलासीलाई नियमित प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। ‘कारागारमा बेला–बेला खानतलासी र सर्च गर्ने गरिएको छ। अहिले त्यसैलाई निरन्तरता दिइएको हो,’ उनले भने।

खानतलासीका क्रममा सोमबार बिहानसम्म कुनै अवैध वस्तु फेला परेको जानकारी प्रहरीले दिएको छैन। खानतलासीसँगै कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारीसमेत गरिएको थियो।

सुरक्षा स्रोतका अनुसार आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट रहेका १५ जनाभन्दा बढी कैदीबन्दीलाई अन्य कारागारमा सार्ने तयारी गरिएको थियो।

त्यसको विरोधमा ‘बी’ ब्लकका कैदीबन्दीले कारागारभित्रै प्रदर्शन गरेका हुन्। उनीहरूले भित्र आगोसमेत बालेर विरोध जनाएका थिए।

दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ। आन्दोलनमा उत्रिएका कैदीबन्दीले ‘बी’ ब्लकभित्र सुरक्षाकर्मीलाई प्रवेश गर्न दिएका छैनन्। उनीहरूले भित्रबाट तालाबन्दी गरेर नाराबाजी गरिरहेका छन्।