सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादपछि एक सातादेखि प्रभावित बनेको यातायात सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। विराटनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नियमित रूपमा चल्न थालेपछि जनजीवन पनि बिस्तारै सामान्य बन्दै गएको छ।
साउन १० गते राति देवानगञ्जको कप्तानगञ्जमा भएको घटनापछि सुनसरी, मोरङ तथा मधेश प्रदेशका सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो। कर्फ्युका कारण पूर्व–पश्चिम राजमार्ग हुँदै सञ्चालन हुने अधिकांश सार्वजनिक यातायात ठप्प बनेका थिए।
एक सातासम्म यातायात सेवा अवरुद्ध हुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, बिरामी तथा यात्रुहरूलाई ठूलो सास्ती व्यहोर्नुपरेको थियो। राजमार्ग बन्द भएका कारण लामो दूरीका बस सञ्चालन हुन सकेका थिएनन्।
पहाडी क्षेत्रका केही रुटमा सवारी चले पनि जनकपुर, वीरगञ्ज, पोखरा, काठमाडौं लगायतका गन्तव्यमा जाने बसहरू कर्फ्यु, असुरक्षाको अवस्था तथा सवारी साधनमा क्षति पुग्ने जोखिमका कारण सञ्चालन गर्न नसकिएको हो। आइतबारदेखि राजमार्ग पूर्णरूपमा खुला भएसँगै सबै सार्वजनिक सवारी नियमित रूपमा सञ्चालनमा आएको हो।




















