जनकपुरमा वार्तारत गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत हिन्दू धार्मिक मोर्चाबिच सहमति जुटेको छ। 
विभिन्न १३ बुँदे माग राखेर मोर्चा आन्दोलनमा उत्रिएपछि गृहमन्त्री आफैँ वार्ता गर्न शनिवार जनकपुर आएका थिए। गृहमन्त्री र आन्दोलनरत पक्षबिच दुई चरणमा भएको छलफलपछि सहमति जुटेको हो। 
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भूदेव झाले दुवै पक्ष बिच सहमति कायम भएको बताए। आन्दोलनरत पक्षले सरकार टोली समक्ष विभिन्न बुँदा समेटिएको  १३ बुँदे माग पत्र राखेका थिए।
सहमति पश्चात् १२ वटा माग तत्काल पुरा गर्ने तर्फ सरकारले गृहकार्य अगाडि बढाउने भएको छ। आन्दोलनरत पक्षले नेपाललाई हिन्दू राष्ट्र कायम हुनुपर्ने माग पनि राखेकाले सरकारले ३ महिनाको समय माग गरेपछि त्यसमा सबैको सहमति जुटेको थियो।
वार्तामा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह, धनुषाका प्रतिनिधि सभा सदस्य, मधेस प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो भने आन्दोलनमा उत्रिएका विभिन्न १ दर्जन बढी धार्मिक सङ्घसंस्थाका प्रतिनिधिहरू वार्तामा सहभागी थिए। 
सुनसरी घटनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका उनीहरूले विभिन्न माग सहित नेपाललाई हिन्दू राष्ट्र कायम हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए। 
शनिवार आयोजित सर्वपक्षीय सद्भाव र्‍याली आन्दोलनरत युवाहरूले कार्यक्रम स्थलमै चर्का नाराबाजी गरेका थिए। कार्यक्रम स्थलमै नाराबाजी हुन थालेपछि धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य मनिष झाले आन्दोलनरत पक्षसँग छलफलमा जुटेका थिए।