बेलबारी, मोरङ। मोरङको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीको पद रिक्त भएको छ। निर्वाचन आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै नेकपा (एमाले) बाट निर्वाचित सुवेदीको पद राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम स्वतः रिक्त भएको जनाएको हो।

आयोगका अनुसार एमालेले पार्टी विधानविपरीत गतिविधि गर्दै दल परित्याग गरेको भन्दै केन्द्रीय सचिवालयको निर्णयको प्रतिलिपिसहित आयोगलाई जानकारी गराएको थियो। सोही आधारमा आयोगले साउन १४ गते निर्णय गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सुवेदीको वडाध्यक्ष पद रिक्त भएको सूचना सार्वजनिक गरेको हो।

निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा एमालेबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित केही जनप्रतिनिधिहरूले दल त्याग गरेको जानकारी प्राप्त भएकाले उनीहरू निर्वाचित भएका पद स्वतः रिक्त भएको उल्लेख गरिएको छ।

बेलबारी–३ का वडाध्यक्ष सुवेदीसँगै रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, जाजरकोटको भेरी नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर राना, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेशकुमार राई, देवाही गोनाही नगरपालिका–४ का वडाध्यक्ष रामप्रवेशप्रसाद कुर्मी तथा खोटेहाङ गाउँपालिका–४ का वडासदस्य प्रदीप आचार्यको पद पनि रिक्त भएको आयोगले जनाएको छ।