सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई बयानका लागि उपस्थित हुन सात दिनको समय दिएको छ। विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा बयान आवश्यक रहेको उल्लेख गर्दै बाटोको म्यादबाहेक एक साताभित्र ललितपुरस्थित हरिहर भवनमा रहेको विभागको कार्यालयमा उपस्थित हुन लिखित सूचना जारी गरेको हो।
विभागका अनुसार तोकिएको अवधिभित्र बयानका लागि उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ। जयविरलाई सम्बोधन गरिएको उक्त सूचना काठमाडौंको बूढानीलकण्ठस्थित देउवा परिवारको हाल प्रयोगविहीन अवस्थामा रहेको निवासमा टाँस गरिएको विभागले जनाएको छ।




















