बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले प्रतिष्ठानको संयुक्त अनुगमन गर्दै यस्तो निर्णय गरेका हुन्। 

अनुगमनका क्रममा मन्त्रीद्वयले प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि समिति गठन गर्ने, संस्थागत सुधारका लागि रिफर्म कमिटी गठन गर्ने बताएका छन्। 

अनुगमनका क्रममा प्रतिष्ठानको स्वास्थ्य सेवा, शैक्षिक वातावरण, पूर्वाधार विकास, प्रशासनिक सुशासन तथा सार्वजनिक सम्पत्तिको संरक्षणका विषयमा विस्तृत छलफल भएको छ।

मन्त्रीद्वयले १३ वर्षदेखि खरिद हुन नसकेको (एमआरआई) मेसिनका लागि मन्त्रालयबाट २५ करोड बजेट विनियोजन गरी खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए। लामो समयदेखि विवादमा रहेको ९एमसीएच० भवन सञ्चालनमा आइसकेको उल्लेख गर्दै प्रतिष्ठानको समग्र सुधारलाई उच्च प्राथमिकतामा राखिएको बताए। 

संस्थागत सुधारका लागि रिफर्म कमिटी गठन गर्ने, विद्यार्थीका लागि आधुनिक स्किल ल्याब र व्यवस्थित लाइब्रेरी विकास गर्ने तथा अस्पताल परिसरभित्र रहेको निर्भाना कन्ट्री क्लब अस्पतालकै स्वामित्वमा फिर्ता ल्याउने प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।