राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असार १६ र १७ गते मनसुनी गतिविधि तीव्र हुने पूर्वानुमानसँगै देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ।
लगातारको वर्षाले बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले खोला–नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा जोखिमयुक्त सडकमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
नागरिकलाई मौसम पूर्वानुमान तथा पूर्वसूचनाबारे नियमित जानकारी लिन र आवश्यक परे विपद् सहायता तथा आपतकालीन हटलाइन सेवाको उपयोग गर्न पनि अनुरोध गरिएको छ।




















